परिचय
रसुवा भन्सार कार्यालय नेपालको बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित रसुवागढीमा अवस्थित छ; नेपाल र चीनको तिब्बत क्षेत्रबीचको उत्तरी सीमामा सञ्चालनमा रहेको महत्वपूर्ण व्यापारिक प्रवेशद्वारका रूपमा परिचित छ। राजधानी काठमाडौंबाट करिब १५२ किलोमिटर उत्तरमा रहेको यस नाकाले नेपाल-चीनबीच हुने आयात-निर्यात व्यापार, राजस्व सङ्कलन, सीमा व्यवस्थापन तथा आर्थिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हिमाली क्षेत्रमा अवस्थित भए पनि यसको भौगोलिक तथा रणनीतिक महत्व अत्यन्त उच्च रहेको छ। नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागको मातहत सञ्चालन हुने यस कार्यालयले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
रसुवागढी क्षेत्र प्राचीनकालदेखि नै नेपाल र तिब्बतबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानको प्रमुख मार्गका रूपमा परिचित थियो। तत्कालिन समयमा रसुवा जिल्लाको स्थानीय बासिन्दा र तिब्बतको केरुङ्ग क्षेत्रको जनताको दैनिक जीवन यापन संचालनका लागि वस्तु विनिमयको माध्यमबाट व्यापार गरी राजस्व समेत परिचालन गर्ने लक्ष्यले ऐतिहासिक तथा पुरातात्विक महत्वपूर्ण स्थल रसुवागढीमा वि.सं. २०१३ सालमा यस कार्यालय स्थापना भएको थियो।
विगतमा सिन्धुपाल्चोकको तातोपानी नाका नेपाल-चीन व्यापारको मुख्य केन्द्र भए पनि वि.सं. २०७२ को विनाशकारी भूकम्पपछि उक्त नाका लामो समयसम्म अवरुद्ध भयो। त्यसपछि रसुवा भन्सार कार्यालय नेपालको उत्तरी व्यापारको मुख्य केन्द्रका रूपमा विकास भएको थियो। भूकम्पपछि रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि यहाँबाट व्यापारिक गतिविधि उल्लेखनीय रूपमा बढ्न थाल्यो। सन् २०१७ मा चीन सरकारले यस नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि यसको अन्तर्राष्ट्रिय महत्व अझ बढेको देखिन्छ। यो नाका नेपाल र चीनबीचको व्यापारका साथै द्विपक्षीय आर्थिक सहकार्यको प्रमुख माध्यम बनेको छ। यस नाकाबाट विद्युतीय सामग्री, तयारी पोशाक, जुत्ता-चप्पल, निर्माण सामग्री, कृषि उत्पादन, दूरसञ्चार उपकरण, सवारी साधन तथा औद्योगिक मेसिनरीजस्ता मालबस्तु नेपालतर्फ आयात हुन्छन्, त्यसैगरी नेपालबाट गलैँचा, हस्तकला सामग्री, उनी कपडा, जडीबुटी, चाउचाउ, तामाका भाँडाकुँडा तथा विभिन्न कृषि उपज चीनतर्फ निर्यात हुने गरेको छ।
छिमेकी मित्र राष्ट्र चीनको तिब्बतमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मानसरोवर तथा कैलाश पर्वतको यात्रा गर्ने तीर्थयात्रीहरूका लागि पनि रसुवागढी नाका एक महत्त्वपूर्ण तथा सहज मार्ग रहेको मानिन्छ । काठमाडौँबाट छोटो दूरीमा पर्ने भएकाले यस नाका हुँदै बर्सेनि सयौँ नेपाली तथा विदेशी (विशेष गरी भारतीय) धार्मिक पर्यटकहरू मानसरोवर यात्राका लागि जाने गर्दछन्। यसले गर्दा यो नाका व्यापारिक दृष्टिकोणका साथै धार्मिक पर्यटनको हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ। भन्सार कार्यालयको सञ्चालनले रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि ठूलो आर्थिक अवसर सिर्जना गरेको छ। होटल, यातायात, कन्टेनर लोड-अनलोड गर्ने लेबर, भन्सार एजेन्ट र साना व्यवसायमार्फत हजारौँ नागरिकले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।
हिमाली भूगोल, बाढी, पहिरो, पासाङ ल्हामु राजमार्गको खराब अवस्था र हिउँदमा पर्ने अत्यधिक चिसो तथा हिमपात जस्ता प्राकृतिक चुनौतीका बाबजुद पनि आधुनिक भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउन यस कार्यालयमा ASYCUDA World, Nepal National Single Window जस्ता सूचना प्रविधिमा आधारित प्रणाली प्रयोग गरिएको छ, जसले भन्सार प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुगेको छ।
समग्रमा, रसुवा भन्सार कार्यालय केवल राजस्व सङ्कलन गर्ने अड्डा मात्र नभई नेपालको उत्तरी छिमेकीसँगको कूटनीतिक र आर्थिक सम्बन्धको सेतु हो। भौतिक पूर्वाधारको पूर्ण विकास, डिजिटल प्रविधिको अधिकतम प्रयोग र सडक सञ्जालको स्तरोन्नति गर्न सकेमा नेपालको वैदेशिक व्यापारमा परिवर्तन ल्याउन सक्नेछ।